बार्सिलोना, स्पेन – स्पेनको राजधानी बार्सिलोना र यस वरपरका क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूका लागि घुम्ती शिविर संचालन हुने भएको छ।
म्याड्रिडस्थित नेपाली राजदूतावासले घुम्ती कन्सुलर सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ, जसले गर्दा स्थानीय नेपालीहरूले राहदानी (पासपोर्ट) नवीकरण लगायत अन्य अत्यावश्यक कन्सुलर सेवाहरू आफ्नै शहरमा पाउने भएका छन् ।
यो घुम्ती सेवा विशेष गरी म्याड्रिडस्थित दूतावाससम्म पुग्न भौगोलिक रूपमा टाढा रहेका र आफ्नो काम वा अन्य व्यस्तताले गर्दा समय निकाल्न नसक्ने नेपालीहरूलाई लक्षित गरी आयोजना गरिएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनसँगको सहकार्यमा हुन लागेको यस कार्यक्रमले स्थानीय नेपाली समुदायलाई दूतावाससँग प्रत्यक्ष रूपमा जोड्न र सरकारी सेवाहरू सहजै प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । शिविरमा मुख्यतया राहदानी नवीकरण र नयाँ राहदानी वितरण को काम हुनेछ ।
यसका साथै, दूतावासले प्रदान गर्ने अन्य कन्सुलर सेवाहरू जस्तै यात्रा अनुमति पत्र, कागजात प्रमाणीकरण र गैरआवासीय नेपाली (एनआरएनए) कार्ड सम्बन्धी जानकारी पनि उपलब्ध गराइनेछ । सेवा लिन के गर्नुपर्छ ? दूतावासले जारी गरेको सूचनाअनुसार, घुम्ती शिविरमा बायोमेट्रिक दिनका लागि सेवाग्राहीहरूले अनिवार्य रूपमा अनलाइन फाराम भर्नुपर्नेछ । फाराम भरेपछि प्राप्त हुने QR कोड प्रिन्ट गरी वा आफ्नो मोबाइलमा सुरक्षित राखी शिविरमा लिएर आउनुपर्नेछ ।
उक्त QR कोड बिना बायोमेट्रिक संकलन गर्न नसकिने हुँदा सेवा लिन चाहने सबैलाई समयमै फाराम भर्न दूतावासले आग्रह गरेको छ । उक्त घुम्ती कन्सुलर सेवा बार्सिलोना स्थित एनआरएनए स्पेनको केन्द्रीय कार्यालयमा अक्टोबर ११ र १२ तारिख बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म हुने भएको हो । शिविरसम्बन्धी थप जानकारी वा कुनै जिज्ञासा भएमा, सेवाग्राहीहरूले तल उल्लेखित सम्पर्क नम्बरहरूमा फोन गर्न सक्नेछन् । (६३२१९२०८०) दूतावासले यस्ता घुम्ती शिविरमार्फत स्पेनका विभिन्न भागमा छरिएर रहेका नेपाली नागरिकहरूसम्म आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसले गर्दा सेवाग्राहीको समय र खर्च दुवैको बचत हुनेछ।